FAQs Complain Problems

बैठक नं. ३८ (२०७५/०६/०८)

प्रस्तावः मिति 2075/06/08 गते सोमवार (कार्यपालिका बैठक नं. 38)

  1. लागत सहभागिता योजना सम्बन्धमा,
  2. आवधिक गृह संचालनार्थ प्रपोजल स्वीकृत सम्बन्धमा,
  3. आर्थिक सहयोग सम्बन्धमा,
  4. सेवा सुविधा सम्बन्धमा,
  5. कार्यक्रम संचालनका लागि अनुमति सम्बन्धमा,
  6. जलाशयहरुलाई माछा पालन तथा नौका विहार व्यवसाय गर्न ठेक्का दिने सम्बन्धमा,
  7. कक्षा ८ को वार्षिक परीक्षाको ग्रेड सीट संशोधन तथा प्रतिलिपिको दस्तुर निर्धारन सम्बन्धमा,
  8. सामुदायिक विद्यालयको रिक्त दरबन्दीमा नियुक्ती गरिएका करार/राहत/सट्टा शिक्षकको अभिलेखीकरण शिक्षा, युवा तथा खेलकूद महाशाखामा राख्ने सम्बन्धमा,
  9. करार/राहत/सट्टा शिक्षक छनौट गर्ने प्रयोजनको लागि छनोट समितिमा रही कार्य गरे बाफत विषय विज्ञ तथा सदस्यहरुलाई विद्यालयले पारिश्रमिक दिने सम्बन्धमा,
  10. राहत/करार/सट्टा शिक्षक नियुक्तिको प्रयोजनमा उमेदवारबाट दरखास्त दस्तुर सम्बन्धमा,
  11. घोराही उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा सरुवा भै आउन चाहेका र सरुवा भै जान खोज्नेको लागि सरुवा सहमतिका बाफत दस्तुर लिने सम्बन्धमा,
  12. वार्षिक कार्ययोजना सम्बन्धमा,
  13. ईट्टा उद्योग सिफारिश सम्बन्धमा,
  14. विविध।

 

निर्णयहरुः

 

निर्णय नं. 1

घोराही उपमहानगरपालिकामा आ.व. 2075/076 को विकास निर्माणका कामहरु नागरीकहरुको सहभागीतामा सु-सम्पन्न गर्नको लागि नियमानुसार सूचना प्रकाशित गरी तोकिएको म्याद भित्र पेश भएका लागत सहभागीताका निवेदनहरु मध्ये बजेट तथा कार्यक्रम तर्जुमा समितिले सिफारिश गरेका योजनाहरुलाई सर्बसम्मत स्वीकृत गर्ने निर्णय गरियो।

 

 

 

 

 

 

निर्णय नं. 2

घोराही उपमहानगरपालिका क्षेत्र भित्र फेला परेका अनाथ, आफन्त फेला नपरेका बालबालिकाहरुलाई आवाधिक गृहमा राखी आवास, भोजन, शिक्षा, यातायात, उपचार आदि कार्य गर्न सहयोगार्थ रु. 5,00,000।- (पाँच लाख मात्र) बाल शान्ति गृह पर्सालाई दिने निर्णय गरियो।

 

 

 

निर्णय नं. 3

  1. जिल्ला प्रहरी कार्यालय घोराही, दाङको प.सं. 2075/076, च.नं. 158 र मिति 2075/06/04 गतेको प्राप्त पत्रानुसार लागूऔषध शिक्षा सम्बन्धी कार्यक्रमको लागि रु. 25,000।- (पच्चीस हजार मात्र) सहयोग दिने निर्णय गरियो।
  2. थारु पत्रकार संघ जिल्ला कार्य समिति, दाङको प.सं. 2075/076, च.नं. 271 र मिति 2075/06/04 को पत्रानुसार थारु पत्रकार संघको राष्ट्रिय सम्मेलन तथा बृहत थारु भाषा गोष्ठी कार्यक्रमको लागि रु. 50,000।- (पचास हजार मात्र) आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरियो।
  3. श्री नवदुर्गा पूँजा समिति घोराही, दाङको मिति 2075/06/04 को पत्रानुसार विजया दशमीको पावन अवसरमा नवदुर्गा भवानीको स्वचालित मूर्ति स्थापनाको लागि रु. 20,000।- (बीस हजार मात्र) दिने निर्णय गरियो।

 

 

निर्णय नं. 4

  1. यस उपमहानगरपालिकाका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबाट प्रयोग हुने सवारी साधनमा कार्यरत सवारी चालकहरु कार्यालय समय भन्दा बढी समय सम्म जुन सुकै बखत सेवामा खटिनु पर्ने भएको हुँदा प्रोत्साहनका लागि सुरु तलब स्केलको ३०% प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने। तर उक्त प्रोत्साहन भत्ता दैनिक भ्रमण आदेश भएको अवधी भर दिइने छैन।
  2. यस उपमहानगरपालिकाको फोहोर व्यवस्थापन तथा सरसफाईमा काम गर्ने स्थायी र करार कर्मचारीहरु बिदाको (शनिवार, सार्वजनिक विदा) दिनमा कार्यालयको काममा खट्टिनु पर्ने भएकाले उक्त बिदाको दिन कार्यालयमा उपस्थित हाजिरी तथा उपस्थित भए नभएको एकिन गरी थप पारिश्रमिक दिने निर्णय गरियो।
  3. यस उपमहानगरपालिकाका विभिन्न पदमा (चालक, कूचिकार, का.स., स्वीपर) कार्यरत ज्यालादारी कर्मचारीहरुलाई चाडपर्व खर्च बापतको रकम खर्च संकेत नं. 22413 को उपशिर्षक करार सेवा शुल्कबाट असोज महिनामा कार्यालयको काममा उपस्थित हाजिरी अनुसारको हुन आउने पारिश्रमिक बराबरको थप रकम दिने निर्णय गरियो।
  4. घोराही उपमहानगरपालिका वडा नं. 16 मा रहेको स्यानेटरी ल्याण्डफील्ड साईट व्यवस्थापन समिति र घोराही उपमहानगरपालिकासँग भएको सँम्झौता अनुसार त्यस भेगका प्रभावित बालबालिकालाई पठन पाठन गर्नको लागि श्री वातावरणीय प्रा.वि. मा 2062/10/01 गते देखि कार्यरत शिक्षक श्री महेश चौधरीलाई आ.व. 2075/076 को सम्झौँता अनुसार पाउने तलव भत्ता दिने निर्णय गरियो।
  5. घोराही उपमहानगरपालिकाको शहरी स्वास्थ्य केन्द्र हात्तीखर्कमा मिति 2069 असोज देखि कामकाज गर्दै आएका का.स. श्री हिमाल बुढा मगरले मासिक तलब रु. 8,750।-(आठहजार सातसय पचास मात्र) प्राप्त गर्दै आएकोले अन्य शहरी स्वास्थ्य केन्द्रमा का.स. हरुले मासिक पाउँदै आएको पारिश्रमिक रु. 12,500।- (बाह्रहजार पाँचसय मात्र) बराबर 2075/04/01 गते देखि लागू हुने गरी दिने निर्णय गरियो।

 

निर्णय नं. 5

मुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालय घोराही, दाङ को प.सं. 2075/076, च.नं. 17 र मिति 2075/05/23 गतेको पत्रानुसार मुक्त कमलरी सशक्तिकरण कार्यक्रम गर्न उक्त कार्यक्रमको परियोजना घोराही उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखामा पेश गरी कार्यक्रम गर्न स्वीकृत दिने निर्णय गरियो।

 

निर्णय नं. 6

घोराही उपमहानगरपालिका अन्तर्गत रहेका जलाशयहरुमा माछा पालन तथा नौका विहार व्यवसाय गर्न आवश्यक पक्रिया पुर्याई ठेक्का दिने निर्णय गरियो।

 

निर्णय नं. 7

कक्षा 8 को वार्षिक परीक्षाको ग्रेड सीट संशोधन तथा प्रतिलिपि लिनको लागि रु. 200।- (दुई सय मात्र) दस्तुर लिने निर्णय गरियो।

 

निर्णय नं. 8

सामुदायिक विद्यालयको रिक्त दरबन्दीमा नियुक्ती गरिएका करार/राहत/सट्टा शिक्षकको अभिलेखीकरण शिक्षा, युवा तथा खेलकूद महाशाखामा राख्ने र सो बापत रु. 500।- (पाँच सय) दस्तुर लिने निर्णय गरियो।

 

निर्णय नं. 9

करार/राहत/सट्टा शिक्षक छनौट गर्ने प्रयोजनको लागि छनोट समितिमा रही कार्य सम्पादन गरे बाफत विषय विज्ञ तथा सदस्यहरुलाई विद्यालयले नियमानुसार बढीमा 15,00।- (पन्ध्र सय मात्र) पारिश्रमिक दिने निर्णय गरियो।

 

निर्णय नं. 10

राहत/करार/सट्टा शिक्षक नियुक्तिको प्रयोजनको लागि उमेदवारबाट दरखास्त दस्तुर शिक्षक सेवा आयोगले सम्बन्धित तहलाई तोकेको भन्दा बढी लिन नपाइने निर्णय गरियो।

 

निर्णय नं. 11

घोराही उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा सरुवा भै आउन चाहने तथा सरुवा भै अन्यत्र जान खोज्ने शिक्षकले सरुवा सहमति बापत रु. 1,000।- (एक हजार मात्र) यस उमहानगरपालिकाले सहमति दस्तुर लिने निर्णय गरियो।

 

निर्णय नं. 12

आ.व 2075/076 को लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्नको लागि सबै महाशाखा/शाखाहरु र वडाहरुले बनाएको कार्यक्रमहरुको समय सीमा सहितको कार्ययोजना स्वीकृत गर्न नगरप्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई आख्तियारी दिने निर्णय गरियो।

 

निर्णय नं. 13

घोराही उपमहानगरपालिका भित्र श्री राम ईट्टा उद्योग (वडा नं. 17, प्रो. बसन्त खनाल र नेग बहादुर ओली) लाई ईट्टा उद्योग दर्ता तथा संचालनको लागि आवश्यक सिफारिस उपलब्ध गराउँने निर्णय गरियो।

 

निर्णय नं. 14

  1. आ.व. 2075/076 विनियोजित सवारी साधन खरिद सम्बन्धी बजेट शिर्षकमा रु. 80,00,000।- (असी लाख) मध्ये गत वर्ष खरिद गरिएको दमकलको बाँकी रु. 48,50,000।- (अठचालीस लाख पचाँस हजार मात्र) भुक्तानी गर्ने र बाँकी रु. 31,50,000।- (एक्तिस लाख पचाँस हजार) बजेटबाट वडा कार्यालयको लागि मोटरसाईकल खरिद गर्ने निर्णय गरियो।
  2. घोराही उपमहानगरपालिका वडा नं. 10 स्थीत प्रस्तावित विमान स्थलको स्थलगत अनुगमनका लागि सँस्कृती पर्यटन तथा नागरीक उडड्यन मन्त्रीज्यू आउँदाको खाना तथा खाजा खर्च बापत बिल अनुसारको भ्याट सहित रु. 55,380।- (पचपन्न हजार तीन सय असी मात्र) भुक्तानी दिने निर्णय गरियो।
  3. घोराही उपमहानगरपालिका वडा नं. 05 मा रहेको स्वास्थ्य चौकी धर्नाको भवन निर्माण लागि वडा नं. 05 स्थित वसन्तापुरमा रहेको जनसेवा सा.ब. को साधारण सभाबाट निर्णय भए अनुसार निज सामुदायिक वनले हकभोक छाडेको नेपाल सरकारको सार्वजनिक जग्गा अन्दाजी 0-10-0 क्षेत्रफल रहेको पूर्वमा अम्मा खोला, पश्चिममा रेशम डाँगीको जग्गा, दक्षिणमा दामोदर सडक र उत्तरमा बबै नदि, अम्मा खोला यति चारकिल्ला भित्र पर्ने उक्त जग्गामा स्वास्थ्य चौकी धर्ना दाङको भवन निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाण्डौमा अनुरोध गर्ने निर्णय गरियो।
  4. उपभोक्ता हित संरक्षण शाखाको वार्षिक कार्यक्रम कार्यान्वयनको लागि आवश्यक पर्ने बजेट उपयुक्त शिर्षक खोजी उपलब्ध गराउने निर्णय गरियो।
  5. वातावरण, सरसफाई तथा विपद् व्यवस्थापन शाखाले हालसम्म गरेका निर्णयहरु अनुमोदन गरियो।
  6. यस उपमहानगरपालिकाको वडा नं. 10 को प.सं. 2075/076, च.नं. 148 र मिति 2075/06/08 को पत्रानुसार वडा नं. 10 अन्तर्गको श्री जनजागृती मा.वि. लमडरुवाले अर्घु र आसपासको क्षेत्रमा प्रदेश स्तरीय सूचना प्राविधिक पार्क (IT Park) निर्माण गर्ने र उक्त विद्यालयमा भएका संरचना, खेलमैदान र साधारण तर्फको पठन पाठनलाई कुनै असर नपर्ने गरी विद्यालय क्षेत्रभित्र र आसपासमा निर्माण हुने भौतिक संरचना समेतमा विद्यालयको स्वामित्व कायम रहने गरी उक्त विद्यालयमा IT सम्बन्धी प्राविधिक धार र अन्य प्राविधिक धार समेत पठन पाठन हुने गरी वि.व्य.स. समितिको निर्णय समेत भएकाले उक्त क्षेत्रमा प्रदेश स्तरीय सूचना प्राविधिक पार्क (IT Park) माग गर्ने निर्णय गरियो।
  7. यस उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा मिति 2075/06/01 गते हाजिर हुनुभएका नेपाल  सरकारका सहसचिव (रा.प.प्रथम श्रेणी) श्री सन्त बहादुर सुनारज्यूलाई स्वागत गर्नुका साथै कार्यकाल सफलताको कामना गरियो।