घोराही नगरपालिकाको परिचय

घोराही नगरपालिका दाङ जिल्लामा छ । नेपालको मानचित्रमा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत तत्कालीन त्रिभुवन नगरपञ्चायतको २०३५ साल माघ १५ गते घोषणा भएको हो । तत्कालीन घोराही गाउँ पञ्चायत र सेवार वनगाउँ गाउँ पञ्चायतको पूरै भू-भाग तथा हरिद्वार गाउँ पञ्चायत र रावतगाउँ गाउँ पञ्चायतको धेरै जसो भू-भाग समेटेर कुल ११ वटा वडाको वर्गीकरण गरी उक्त नगर पञ्चायत नामाकरण गरिएको हो । घोराही नगरपालिका दाङ जिल्लाको सदरमुकाम घोराही बजार भित्र रहेको हुँदा राप्ती अञ्चलका रूकुम, रोल्पा, सल्यान र प्युठान जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा मानिन्छ । यो नगरपालिकाभित्र बराहक्षेत्र, अम्बिकेश्वरी भगवती र गोरक्षनाथ, गणेश, सिराडीसाह मन्दिर र सत्यसाइ केन्द्र जस्ता मठमन्दिर छन् । घोरहीको मुख्य विशेषता भनेको एसियाको सबैभन्दा ठूलो उपत्यका दाङ उपत्यका भित्र रहनु हो ।घोराही समुद्र सतह देखी ६६८ मीटरमा अवस्थित छ । नगरपालिकाको पूर्वमा लक्ष्मीपुर, पश्चिममा त्रिपुर न.पा. र उत्तरमा स्युजा/सैघा गाउँ विकास समिति पर्दछन् ।यहाँको अधिकत्म तापक्रम ३९ डिग्री सम्म पुग्ने गर्दछ ।यहाँ १४२.१७ मिलीमिटर औसत वर्षा र १७१२.६ मिलीमिटर वार्षिक वर्षा हुने गर्छ । नगरपालिकाको कुल जनसंख्या ६२ हजार ९ सय २८ छ । कुल जनसंख्यामध्ये महिलाको जनसंख्या ३२ हजार ८ सय १८ र पुरूषको ३० हजार १ सय १० छ भने नगरपालिका भित्रको जम्मा घरधुरी संख्या १५ हजार ४ सय ८५ छ । नगरपालिकाको कुल क्षेत्रफल ७४ दशमलव ४५ वर्ग किमि छ । नगरपालिकाभित्र ब्राहृमण, क्षेत्री, थारू, नेवार, मगर, विश्वकर्मा, परियार र मधेसीमूलका जात/जाति बसोबास गर्दछन् । नेपाली झ्याउरे थारू संस्कृतिमा आधारित बडका नाच, कौडा नृत्य, टप्पा नाच, लाखे नाच, देउँसी भैलो र धार्मिक कार्यमा गाइने भजन कीर्तन नगरपालिकाका प्रमुख कला संस्कृति मानिन्छन् । घोराही नगरपालिका भित्र हिन्दूहरूले मनाउने प्रमुख चाड पर्वमा दशैं, तिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, जनैपूर्णिमा र हरितालिका हुन् भने बुद्धपूर्णिमा बौद्ध धर्म मान्नेहरूको प्रमुख पर्व हो । त्यस्तै मुस्लिम धर्म मान्नेहरूले इद्, बकरीद जस्ता चाड मनाउने गरेको पाइन्छ । नगरपालिका स्थापना भए यता विभिन्न व्यक्तिले नगरपालिकाको नेतृत्व लिइसकेका छन् । तीमध्ये तत्कालीन त्रिभुवन नगर पञ्चायतका प्रथम प्रधानपञ्च गजराज शर्मा हुन् भने उपप्रधानपञ्चमा अशोक चौधरी र रामशरण थापा हुन् । संस्थापक प्रधानपञ्च शर्माले दुई पटकसम्म नगर नेतृत्व प्रदान गरिसकेका छन् । यसैगरी यज्ञबहादुर बुढाथोकी, शर्मा पछिका तत्कालीन प्रधानपञ्च हुन भने तोरणध्वज श्रेष्ठ उपप्रधानपञ्च हुन् । मुलुकमा प्रजातन्त्र पुनस्थापना भएपछि पुन २०४९ मा यज्ञबहादुर बुढाथोकी र अर्जुनकुमार श्रेष्ठले प्रमुख/उपप्रमुखको नेतृत्व सम्हाले । त्यसपछि २०५४ मा अमर डाँगी र दामोदर अधिकारीले प्रमुख र उपप्रमुख पदको नेतृत्व गरेको पाइन्छ । यसैगरी मनोनीत नगर प्रमुख बलि राना र उपप्रमुख गणेशप्रसाद श्रेष्ठले पनि नगर नेतृत्व सम्हालेको पाइन्छ ।