FAQs Complain Problems

बैठक नं.३४(२०७५।०४।१३)

प्रस्तावः मिति २०७५।०४।१३ आइतवार (कार्यपालिका बैठक नं. ३४)

१. आ.व. २०७५।०७६ को बजेट कार्यान्वयन सम्बन्धमा,

२.संगठन संरचना तथा दरवन्दी सम्बन्धमा,

३. सेवा करार सम्बन्धमा

४.शहरी स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अ.हे.व. र अनमी को सुविधा वृद्धि सम्बन्धमा,

५.विपद् व्यवस्थापन कोषबाट गरिने खर्चको मापदण्ड सम्बन्धमा,

६. तालिम व्यवस्थापन तथा कार्यविधि, 2074 परिमार्जन सम्बन्धमा,

७. शिक्षक भर्ना अनुमति सम्बन्धमा,

८. सटर घर भाँडा सम्बन्धमा,

९.ईट्टा भट्टा उद्योग नवीकरण तथा स्थापना लागि सिफारिश गर्ने सम्बन्धमा,

१०. कानूनी सल्लाहकार र प्रेस संयोजकको सुविधा वृद्धि सम्बन्धमा,

११. न्यायिक समितिको मेलमिलापकर्ता सूची प्रकाशन गर्ने सम्बन्धमा,

१२. विविध सम्बन्धमा।

 

 

निर्णयहरुः

 

निर्णय नं. १

आ.व 2075/076 को लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्नको लागि सबै महाशाखा/शाखाहरु र वडाहरुको आ-आफ्नो कार्यक्रमहरुको समय सीमा सहितको कार्ययोजना बनाई कार्यपालिकाबाट स्वीकृत गराउने निर्णय गरियो।

 

निर्णय नं. २

नेपाल सरकार (म.प.) को मिति २०७४/१२/१४ को निर्णयानुसार उपमहानगरपालिकाको अन्तरिम संगठन संरचना र दरवन्दीलाई परिमार्जन गर्न यस घोराही उपमहानगरपालिकाको लागि नगरप्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले तयार गरी समयावधि भित्रै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पठाउने जिम्मेवारी दिइयो।

 

निर्णय नं. ३

  1. यस उपमहानगरपालिकामा साविकमा सेवा करार सम्झौँता गरी कार्यरत रहेका महिला जागृती, गरिबसँग विश्वेश्वर कार्यक्रम लगायत सबै स्तरका करार तर्फका कर्मचारीहरुलाई २०७५ श्रावन १ गते देखि लागु हुने गरी थप ६ महिनाका लागि म्याद थप्ने निर्णय गरियो।
  2. साविकमा LGCDP  कार्यक्रम तर्फ कार्यरत 19 जना सामाजिक परिचालिकाहरुको सेवा म्याद अवधि २०७५ अषाढ मसान्त सम्म रहेकोमा यस उपमहानगरपालिकामा वडास्तरमा कर संकलन तथा अन्य कार्यमा समस्या देखिएकोले ती सामाजिक परिचालिकाहरुलाई साविक बमोजिमको सुविधा दिने गरी २०७५ पुष मसान्त सम्मका लागि सेवा करार सम्झौँता गर्ने। निजहरु कम्प्युटरमा दक्षता हासिल नभएमा वा कर संकलन कार्यमा क्षमतावान हुन नसकेमा सेवा करार सम्झौँता भंग गरिने निर्णय गरियो।

 

निर्णय नं. ४

     शहरी स्वास्थ्य सेवा केन्द्र र हेल्थ पोष्टमा सेवा करारमा कार्यरत अ.हे.व र अ.न.मि. सबैलाई हाल खाईपाई आएको सुविधामा प्रत्येकलाई मासिक रु. एकहजारका दरले थप सुविधा प्रदान गर्ने निर्णय गरियो।

 

निर्णय नं. ५

विपद् व्यवस्थापन कोषबाट गरिने खर्चको मापदण्ड स्वीकृत गर्ने निर्णय गरियो।

 

निर्णय नं. ६

तालिम व्यवस्थापन तथा कार्यविधि, २०७४ लाई परिमार्जन गरी ×तालिम व्यवस्थापन तथा कार्यविधि, २०७५" लाई स्वीकृत गरियो।

 

    

निर्णय नं. ७

यस घोराही उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरुमा रिक्त रहेका शिक्षक दरवन्दी, राहत कर्मचारी एवं शिक्षा विकास तथा समन्वय ईकाइ दाङद्वारा यस वर्ष उपलब्ध गराइएको अनुदान रकममा शिक्षक नियुक्ति गर्नको लागि सम्वन्धित विद्यालयलाई अनुमति दिई परीक्षा समेत ब्यवस्थापन गर्नुपर्ने भएको र सो सम्वन्धमा स्थानीय कार्यविधि नभएको हुँदा अर्को ब्यवस्था नभए सम्मको लागि मिति २०७५/०४/१४ गते देखि लागुहुने गरी उक्त कार्य गर्नको लागि यस घोराही उपमहानगरपालिकाका नगरप्रमुखलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो।

 

निर्णय नं. ८

१. वडा नं. १४ मा रहेका विभिन्न सटरहरु र वडा नं. १० नारायणपुरमा रहेका सटरहरुको हाल कायम भाँडा दरमा वृद्धि गरी न्यूनतम भाँडादर तोकी भाँडामा दिनको लागि १५ दिनको सूचना प्रकाशन आह्वान गर्ने। बढी भाँडा कबोल गर्ने व्यक्ति वा व्यवसायीलाई चारवर्षका लागि भाँडामा दिने र प्रत्येक दुई वर्ष पछि १०% भाँडा वृद्धि हुने शर्त राखी सम्झौँता गर्न स्वीकृत दिने निर्णय गरियो।

२. १४ नं. वडा कार्यालयको च.नं. २३४४ र मिति २०७५/०३/१८ को पत्रानुसार स्वर्गद्वारी आश्रम प्यूठानका नाममा दर्ता श्रेस्ता भएको साविक घोराही ७ ख कि.नं. ४८६ र ४८७ को जग्गा १४ नं. वडा कार्यालय र स्वर्गद्वारी आश्रम बीच भएको सम्झौँता कायम रहने गरी ग्रील व्यवसायी संचालन गर्न दिने वडा कार्यालयको निर्णय अनुमोदन गरियो।

३. घोराही उपमहानगरपालिकाको शहरी/बजारभित्र ब्यवसायिक रुपमा पशुबध गर्दा तोकिएको शुल्क उठाउन न्यूनतम रु १,२५,०००।-(एकलाख पच्चीसहजार) कायम गरी टेण्डर  आह्वान गर्ने निर्णय गरियो।

 

निर्णय नं. ९

यस उपमहानगरपालिका भित्र हाल संचालनमा रहेका ईट्टा उद्योगहरुले नवीकरणका लागि शुभम् ईट्टा उद्योग (वडा नं. १०, प्रो. कमल प्रसाद अधिकारी), माता अम्विकेश्वरी फिक्स चिम्नी ईट्टा उद्योग (वडा नं. १०, प्रो. पूर्ण अधिकारी), मनकामना ईट्टा उद्योग (वडा नं. १७, प्रो. किरण कुमार रेग्मी), न्यू मनकामना ईट्टा उद्योग (वडा नं. १०, प्रो. टोप बहादुर वली र कृतीमान खत्री) निवेदन प्रप्त भएकोमा ती चार वटै उद्योगहरुलाई नवीकरण गर्ने निर्णय गरियो। त्यसै गरी नयाँ ईट्टा उद्योग स्थापना गर्न चाहने ॐ ईट्टा उद्योग (वडा नं. ८, प्रो. टेकबहादुर खड्का), बबई चिम्नी ईट्टा उद्योग (वडा नं. २, प्रो. हिमलाल राना र रामप्रसाद चौधरी) र जलजला फिक्स चिम्नी उद्योग (वडा नं. १६, प्रो. केवल खत्री) हरुको निवेदन उपर नगरप्रमुखज्यूले तोकिएको मापदण्ड अनुसार भए नभएको बुझी उपयुक्त लागेमा संचालनका लागि सहमति दिने गरी अधिकार प्रत्यायोजन गरियो।

 

 

निर्णय नं. १०

घोराही उपमहानगरपालिकाका कानूनी सल्लाहकार र प्रेस संयोजकको  पहिलाको खाईपाई आएको सुविधामा वृद्धि गरी मासिक रु.२०,०००।- (बीस हजार) उपलब्ध गराउने निर्णय गरियो।

 

निर्णय नं. ११

न्यायिक समितिले मेलमिलापको माध्यमबाट मात्र विवादको निरोपण गर्नुपर्ने विवादहरुको मेलमिलाप गराउँनका लागि तोकिएको योग्यता पुगेको मेलमिलाप कर्ताको सूची प्रकाशन गर्ने प्रकृया पूरा गरी सूचीकृत गर्ने निर्णय गरियो।

 

निर्णय नं. १२

१. नेवार सेवा समितिको च.नं. १३ र मिति २०७५/०३/३२ को पत्रबाट लाखे नाच तथा जात्रा पर्व संचालन गर्नको लागि आर्थिक सहयोग माग गरेकोमा त्यस समितिलाई रु २५,०००।-(पच्चीस हजार मात्र) सहयोग गर्ने निर्णय गरियो।

२. वडा नं. १० मा अवस्थित मन्ठुरियामा परम्परागत पूजाआजाका लागि वडा नं. ६, ७, ८, ९, १०, ११ र १२ का वडा कार्यालयबाट प्रति वडा ५,०००।-  का दरले गरेको खर्च  सम्वन्धित वडाले छुट्याएको बजेटबाट उपलब्ध गराउने निर्णय गरियो।

३. गाडि पार्किङ्ग शुल्क सम्वन्धी यस उपमहानगरपालिकाबाट मिति २०७५/०३/२३ गते सूचना प्रकाशन भएकोमा उक्त सूचनाका सम्वन्धमा सरोकारवाला सम्वन्धित मन्दिर व्यवस्थापन समितिले हाललाई यस उपमहानगरपालिकासँगको साझेदारीमा पार्किङ्ग शुल्क उठाउन माग गरेको र केही मन्दिर व्यवस्थापन समितिले पूर्वाधार नभएको हुँदा पार्किङ्ग शुल्क लिन मनासिव हुने नदेखिएको भन्ने आएकोले ती समितिहरुसँग समझदारी गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने भएकोले हाललाई उक्त प्रकाशित सूचना बमोजिम टेण्डर प्रक्रिया अगाडि नबढाउने निर्णय गरियो।

४. यस घोराही उपमहानगरपालिका क्षेत्र भित्र व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुलाई यस उपमहानगरपालिकामा अनिवार्यरुपमा व्यवसाय दर्ता गरी व्यवसाय संचालन गराउनको लागि विगतमा अन्य निकायमा दर्ता भई व्यवसाय संचालन गरेका व्यवसायीलाई यस उपमहानगरपालिकामा दर्ता गर्न आउँदा आ.व. २०७४/०७५ को बार्षिक व्यवसाय कर लिएर दर्ता गर्ने निर्णय गरियो।

५. यस उपमहानगरपालिका भित्रका पीडित महिलाका लागि अल्पकालीन आश्रयस्थलमा आश्रयका लागि पठाउँदा यस उपमहानगरपालिकाले दिने आर्थिक सहयोग सम्वन्धमा महिला, बालबालिका, ज्येष्ठ नागरीक तथा सामाजिक विकास शाखाले मापदण्ड बनाई नगरप्रमुखबाट स्वीकृत गराई लागू गर्ने निर्णय गरियो।

६. १७ नम्वर वडाको कुशुम गौतम (१२ वर्ष) को बच्चा ड्याममा डुबेर मृत्यु भएकोले निजको परिवारलाई आर्थिक सहयोग स्वरुप रु ५,०००।-(पाँचहजार मात्र) उपलब्ध गराउने निर्णय गरियो। 

 ७. मिति २०७५/०३/२६ गते १९ नं. वडा अन्तर्गत पाँचपोखरी गाउँमा च्याउँ खाएर मृत्यु भएका प्रशंसा घर्ति वर्ष १२, वालाराम घर्ति वर्ष २० र चित्र बहादुर घर्ति वर्ष ३६ का परिवारलाई आर्थिक सहयोग स्वरुप प्रति परिवार रु ५,०००।-(पाँच हजार) उपलब्ध गराउने निर्णय गरियो।

८. घोराही उपमहागरपालिका कार्यपालिका सदस्य श्री विमला गन्धर्वज्यूका  पति श्री निम बहादुर गन्धर्वज्यूको मिति २०७५/०४/०५ गते भएको दु:खद निधनले हामी अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौं। दु:खको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना सहित हार्दिक समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरियो ।